नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिनु भएकाे छ ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ सहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१.५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’ भन्दै ओमिक्रोन नामाकरण गरेको थियो । अहिलेसम्म दक्षिण एसियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ । भारतमा पनि २१ जनामा यो भेरिएन्ट पुष्टि भइसकेको छ ।
३० पटकभन्दा बढी उत्परिवर्तित भएको भनिएको ओमिक्रोन भेरिएन्ट कति संक्रामक छ र खोप कति प्रभावकारी छ भन्नेबारे भने प्रस्ट भइसकेको छैन । ओमिक्रोन भेरिएन्टले कोरोनाको अर्को लहर निम्तिन सक्ने भन्दै विश्वका अधिकांश देशले अफ्रिकी देशहरूबाट हुने यात्रामा रोक लगाएका छन् ।
