विनोद खनाल, बुटवल
यही चैत्र ४ गते धनगढी बाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा आईतबार बुटवल आईपुगेको छ । भोली चैत्र १३ गते बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टोली बुटवल आएको हो ।
आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि अभियानको बारेमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा बोल्दै बरिष्ट जनगायक जीवन शर्माले राज्यले जनकलाकारहरुलाई सम्मान गरोस नगरोस आँफुहरु राष्ट्रका लागि लडिरहने बताएकाछन् । उनले राष्ट्रलाई अफ्ठ्यारो पर्दा र जनतालाई अफ्ठ्यारो पर्दा संधै जनकलाकार अग्रमोर्चामा लड्ने बताउँदै आम जनताको मायामा आँफुहरु हुर्किएको बताए । संधै जनताका पिरमर्काका गीतसंगीत लिएर गाउँबस्तिमा हिँड्ने जनकलाकार देशका मुख्य सहरहरुमा कार्यक्रम गरिरहँदा उद्योगी ब्यबसायीहरुको समेत साथसहयोग पाएकोमा खुसी ब्यक्त गर्दै उनले भने हाम्रा गीतसंगीतले उनिहरुका पीडा बोलेको छ उद्योगी ब्यबसायीहरुलाई अहिले अफ्ठ्यारो परेको छ राज्यले संरक्षण गर्न नसके मुलुक दुर्घटनामा जान्छ।
यस्तै जनवादी गीतकार मणी थापाले कम्युनिष्ट बहुमत भएको मुलुकमा जनकलाकारहरु ओझेलमा पर्नु दुखद भएको बताउँदै हरेक राजनितिक आन्दोलनलाई पुर्णता दिन आर्थिक क्रान्ति र आर्थिक क्रान्तिलाई पुर्णता दिन सांस्कृतिक रुपान्तरण जरुरि भएको बताएका छन । उनले नेता र जनता बिचको खाडललाई पुर्न र जनआवाजलाई मुखरित गर्नका लागि पनि जनसंगीत अभियात्रा संचालन गरेको बताए ।
यस्तै जनकलाकार चिरन सीले कम्युनिष्ट जनमत र जनअपेक्षालाई संस्थागत गर्न जनसंगीत अभियान संचालन गरेको र यसले राजनैतिक पार्टीको नेतृत्वलाई समेत खबरदारी गर्ने बताए । उनले सबै बामपन्थि पार्टीका जनकलाकारहरू एकठाउँमा भएर बिगत लामो समय देखि सहकार्य गरेर बिबिध कार्यक्रम गर्दै आएको र अहिले यो अभियात्रा मार्फत छुट्टै सन्देश दिने बताए।
जनकलाकारहरु जीवन शर्मा, मणी थापा, चिरन सी, उदय श्रेष्ठ, कर्ण बिद्रोही, निलिमा पुन, प्रगती महरा, मोहित श्रेष्ठ, नारायण शर्मा, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रीन, अनु शर्मा, निशा बुढामगर लगायतका जनपक्षीय श्रष्टा, जनगायक, लेखक, गीतकार, जनसंगीतकार नृत्यकारहरु सहितको टिमले देशका मुख्य शहरहरुमा बिबिध प्रस्तुति सहितका कार्यक्रम गर्दै आएको छ। जनवादी गीत संगित एवं नृत्य प्रस्तुत गर्ने कार्यक्रममा प्रबेश शुल्क भने नराखिएको आयोजकले बताएका छन ।


