प्रकाश न्यौपाने । प्युठान । दाङमा प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका ४ पुजा बस्ने २२ वर्षीय अशोक न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उनी अहिले ठुलाबेसी बस्दै आएका थिए भने केही समय पहिले पनि उनी बाइक चोरी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बुधबार बिहान करिब पौने १० बजेतिर घोराही उपमहानगरपालिका १७ गुलरिया पानी ट्याङ्की स्थित भूप बहादुर चौधरीले घर अगाडि पार्किङ गरि राखेको लु ९१ प २०४० नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको सवारी धनीले जिप्रका दाङमा जानकारी गराएपछि तत्काल प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा बुधबार साँझ करिब ६ बजेतिर घोराही ३ भैसकुर स्थित शिवमन्दिर नजिकबाट प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
प्रवक्ताका अनुसार न्यौपानेले चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेका थिए । उनले लु ९१ प २०४० नम्बरको मोटरसाइकलको पछाडिको नम्बर प्लेट परिवर्तन गरी रा ७ प ५४४२ नम्बर राख्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो । यस्तै बिहीबार दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।