राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले “भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमण”मा “त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको” बताएका छन्।

उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।
मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन् भने भेनेजुएला सरकारले अहिलेसम्म यसको पुष्टि गरेको छैन।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन्।
सरकारले उनीहरू दुवैको “तत्काल जीवनको प्रमाण”को माग गरेको उनले बताइन्।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई अधिकारीहरूले बताए अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो।
यसअघि भेनेजुएलाको राजधानी कराकाससहित उक्त देशका विभिन्न भागहरूमा विस्फोटहरू भएका विवरण आएका थिए।
जसक्रममा सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरूसहितका स्थानमा आक्रमण गर्न आदेश दिएको बताएका थिए।

भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै “अमेरिकी आक्रामकतालाई नस्वीकार्ने” बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ।
यसअघि राष्ट्रपति मदुरोले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका थिए।
प्रभावितमध्ये राजधानी सहरको केन्द्रमा अवस्थित हवाई क्षेत्रसहितको सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखडा छन्। त्यस आसपासका कैयौँ समुदायहरू विद्युतविहीन बनेका छन्।
सहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ। स्थानीय सञ्चारमाध्यमका खबरमा विस्फोटहरूसँगै विमानहरू उडेको आवाज पनि सुनिएको बताइएको छ।









