
इलाका प्रहरी कार्यालय (इप्रका) कबहीका प्रमुखसमेत रहेका प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको प्रहरी कै पेस्तोल गएको गत पुस ११ गते रहस्यमय तरीकाले हराएको हो।
डिउटीमा बसेको बेला सई मिश्रले पेस्तोल ताक्दा उल्टै पेस्तोल सीमा क्षेत्रमा तस्करी गर्ने समूहले थुतेर लगेको बताइएको छ ।
पुष ११ गते साँझ तस्करीको एउटा समूहले सोनुकुमार मिश्रले बोकेको पेस्तोल खोसेका हुन् । उनी आफ्नो क्षेत्रमा निकै कमजोर प्रहरी अधिकृत भएको थाहा पाएपनि जिल्ला प्रहरी कार्यालयले उनको ठाउँमा अर्को अधिकृत नपठाउदा यस्तो घट्ना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो सम्बन्धमा बिहीबार प्रदेश प्रहरी कार्यालयले छानविन समिति बनाएको छ । एसपी भेषराज रिजालको संयोजकत्वमा छानविन समिति बनाइएको हो । मधेस प्रदेशका डिआइजी गोविन्द थपलियाले पेस्तोल हराएको जानकारी आएकाले छानविन समिति बनाएको बताए । ‘हामीले छानविन समिति बनाएका छौँ, तथ्य के हो पत्ता लागिहाल्छ’, डिआइजी थपलियाले भने ।
सो घट्नालाई तीन दिनसम्म गुपचुप राखिएको थियो । १३ गते मात्रै बाहिर ल्याइएपछि उनीमाथि आन्तरिक रुपमा छानविन सुरु गरिएपनि तथ्य पत्ता नलागेपछि मधेस प्रदेश कार्यालयले नै छानविन समिति बनाएको हो । पुस १५ गते गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सम्पन्न गरेपछि थप अनुसन्धानका लागि शुक्रबार सबै प्रहरी कर्मचारीलाई प्रदेश कार्यालयमा उपस्थित गराइएको हो ।
घटना सार्वजनिक हुनासाथ मधेश प्रदेश प्रहरी कार्यालयले सईदेखि कार्यालय सहयोगीसम्म १२ जना प्रहरी कर्मचारीलाई छानबिन र सोधपुछका लागि जनकपुर झिकाएको हो ।
प्रारम्भिक बयानका क्रममा सई मिश्रले राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताएका छन् । तर, उनले ब्यारेकबाटै हतियार हराएको भन्ने अर्को बयान पनि दिएको भन्दै घटनाको विवरण शंकास्पद देखिएको छानबिन समितिले जनाएको छ ।

छानबिन समिति संयोजक एसपी रिजालले सबै प्रहरी कर्मचारीलाई अलग–अलग राखी सोधपुछ र अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार “त्यस समयमा इप्रकामा रहेका सबै प्रहरी कर्मचारीलाई शुक्रबार दिउँसो प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ । सबैसँग बेग्लाबेग्लै अनुसन्धान भइरहेको छ । दोषी देखिएका जो–कोहीलाई पनि कानुनी र विभागीय कारबाही गरिने प्रहरीले जनाएकाे छ ।”
यसैबीच, प्रहरी स्रोतका अनुसार ड्युटीका क्रममा तस्कर समूहले प्रहरीको हतियार खोसेर लगेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । सीमा क्षेत्र नजिक भएकाले तस्करी गतिविधि सक्रिय रहने र लुटपाटको सम्भावनालाई समेत ध्यानमा राखेर अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । यद्यपि, प्रदेश प्रहरीले यस विषयमा आधिकारिक पुष्टि भने गरेको छैन ।
सरकारी हतियार नै सुरक्षित नहुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै मधेस प्रदेश प्रहरीले घटनामा जो–कोही दोषी ठहरिए कानुनी तथा विभागीय कारबाही गर्ने प्रहरीले तयारी गरेको छ ।









