पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगको प्रश्नसहित पत्र : प्रचण्डले बुझाए, देउवाले बुझाएनन्
२३ र २४ भदौको जेन–जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले १८० भन्दा धेरै व्यक्तिको बयान, बयान कागज तथा साक्षी कागज गरेको छ । गत ९ असोजदेखि काम सुरु गरेको आयोगको म्याद ९ माघसम्म छ । त्यसभित्रै प्रतिवेदन बुझाइने प्रवक्ता विज्ञानराज शर्मा बताउँछन् । ‘करिब–करिब बयान सकिएको छ । हामी अहिले प्रमाण र बयानको विश्लेषणमा छौँ । हाम्रो टिम प्रतिवेदनको तयारीमा दिनरात लागिरहेको छ,’ प्रवक्ता शर्माले भने, ‘यो घटनाको सत्यतथ्य पत्ता लगाएर भोलिका दिनमा राज्यलाई अनुसन्धानका लागि आधार बनाउने प्रयास गरिरहेका छौँ ।

२३ र २४ भदौको जेन–जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले जेन–जी अगुवादेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मको धारणा लिएको छ । प्रतिवेदन लेखनमा रहेको आयोगले १८० भन्दा धेरै व्यक्तिको बयान, बयान कागज तथा साक्षी कागज गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले छानबिनको कामलाई अन्तिम चरणमा पुर्याई विश्लेषण र प्रतिवेदन लेखन थालेको छ ।
आयोगको छानबिनको केन्द्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी अधिकारी छन् । आयोग प्रवक्ता विज्ञानराज शर्मा बयानको काम लगभग सकिएको बताउँछन् । ‘करिब–करिब बयान सकिएको छ,’ उनले भने, ‘हामी अहिले प्रमाण र बयानको विश्लेषणमा छौँ । हाम्रो टिम प्रतिवेदनको तयारीमा दिनरात लागिरहेको छ । ९ माघभित्रै प्रतिवेदन बुझाउँछौँ ।’
आयोगले गत आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको बयान लिएको थियो । उनको निवासमै पुगेर आयोगका अधिकारीले ओलीसँग ५० भन्दा धेरै प्रश्न सोधेका थिए । त्यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए । तत्कालीन गृहमन्त्री लेखकलाई भने आयोगमै बोलाएर दुई साताअघि बयान लिएको थियो । बयानपछि आयोगले ओली र लेखकको स्थानहद पनि फुकुवा गरिसकेको छ ।
आयोगले जेन–जी अगुवादेखि प्रहरी अधिकारी, नेताहरू तथा राष्ट्रपतिसम्मको धारणा राखेर प्रतिवेदन लेख्दै छ । राष्ट्रपति पौडेलले समेत लिखित रूपमा आफ्ना धारणा दिएको प्रवक्ता शर्मा बताए । त्यस्तै, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समेत लिखित धारणा लिएको छ ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आयोगले प्रश्नसहित पत्र पठाएको थियो । प्रचण्डले बिहीबार जवाफ बुझाएका छन् भने देउवाले अझै बुझाएका छैनन् । त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग पनि आयोगले लिखित रूपमा धारणा लिइसकेको छ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र गुप्तचर प्रमुख हुतराज थापालगायतसँग लिखित बयान गत महिना नै लिइसकेको छ । फिल्डमा खटिएका प्रहरीदेखि कमान्डर तथा उच्च अधिकारीको विस्तृत बयान लिएको हो ।
करिब ९० जनाको बयान र थप ९० जनाको विभिन्न प्रकारका कागज गरिएको प्रवक्ता शर्मा पठाउँछन् । बिहीबार आयोगले जेन–जी अगुवाद्वय रक्षा बम र खेमराज साउदसँग बयान कागज गरेको छ । यसअघि सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतसँग पनि सोधपुछ गरेको थियो । गत ९ असोजदेखि काम सुरु गरेको आयोगको म्याद ९ माघसम्म छ । त्यसभित्रै प्रतिवेदन बुझाइने प्रवक्ता शर्मा बताउँछन् । आयोगका पदाधिकारी पहिलो चरणमा देशैभरि पुगेर सबै पक्षको विचारसमेत सुनेको थियो । आयोगले पीडित पक्षमार्फत क्षतिको विवरणसमेत माग गरी संकलन गरिसकेको छ ।

जेन–जी आन्दोलनको पृष्ठभूमि, २३ भदौमा भएको आन्दोलन तथा २४ भदौमा भएको आन्दोलन र त्यसको आवरणमा भएको आपराधिक घटनामा केन्द्रित भएर आयोगले छानबिन गरिरहेको छ । २३ भदौमा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन बानेश्वर क्षेत्रमा १७ जनाको ज्यान गएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए ।









