२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

गायक प्रशान्त तामाङको निधन

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘हृदयघात भएको रहेछ ।’

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।

४३ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे ।

त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।

उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।

उनले नेपालको चर्चित टिभी श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए । प्रशान्तको निधनको खबरलगत्तै उनलाई सामाजिक संजालमा समवेदनाको ओइरो लागिरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।