काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिँदैछन् । स्थानीय तहको नेतृत्व सम्हाल्दै आएका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत संसदीय राजनीतिमा प्रवेश गर्न लागेका हुन् । उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।

माघ ४ गते मध्यान्ह बालेनले काठमाडौँ महानगरपालिकाको कार्यकक्षबाटै आफ्नो राजीनामा दिनेछन् । मेयरको जिम्मेवारीबाट मुक्त भएपछि सोही दिन दिउँसो उनी चमतीस्थित रास्वपाको केन्द्रीय कार्यालय (घण्टीघर) पुग्नेछन् । त्यहाँ उनलाई पार्टीले विशेष स्वागत गर्ने र उनले आधिकारिक रूपमा चुनावी अभियानको कमाण्ड सम्हाल्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
माघ ५ : मधेस यात्रा (जनकपुर)
राजनीतिक यात्राको सुरुवाती चरणमा बालेनले मधेस प्रदेशलाई प्राथमिकतामा राखेका छन् । माघ ५ गते हवाईमार्ग हुँदै उनी जनकपुर पुग्नेछन् । जनकपुरमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी हुनेछन् । त्यसमध्ये एउटा चुनावी सभा हुनसक्नेछ । यस भ्रमणलाई मधेसमा रास्वपा र बालेनको क्रेज मापन गर्ने कडीका रूपमा हेरिएको रास्वपा स्रोतले जनाएको छ ।
माघ ६ : झापा–५ मा उम्मेदवारी दर्ता
जनकपुरको कार्यक्रम सकेर बालेन सडकमार्ग हुँदै झापा प्रस्थान गर्नेछन् । माघ ६ गते उनले झापा क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यतालिका छ । सोही दिनदेखि झापामा बालेनको सम्पर्क कार्यालय सञ्चालनमा ल्याइनेछ । झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेकाले बालेनको यो कदमलाई नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको छ । बालेनले सम्पर्क कार्यालय र आफू बस्ने तथा सचिवालय राख्नेगरी दुईवटा कार्यालय खोल्ने तयारी गरेका छन् ।
माघ ७ : घरदैलो र चुनावी प्रचार

उम्मेदवारी दर्ता र कार्यालय स्थापनापछि माघ ७ गतेदेखि बालेन पूर्णरूपमा चुनावी प्रचारप्रसारमा होमिनेछन् । उनले झापाका विभिन्न टोल र बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्ने र आफ्नो एजेण्डा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
‘उहाँले झापा मात्रै होइन झापा सहित विभिन्न जिल्लामा लैजाने प्रयास हुन्छ । समयको आधारमा कति सम्भव हुन्छ । त्यो त हेर्न बाँकी छ । तर उहाँलाई जति धेरै निर्वाचन क्षेत्रमा पुर्यायो, घण्टीमा त्यति धेरै मत खस्ने आंकलन गरिएको छ,’ उनी निकट स्रोतले भन्यो ।
झापापछि मधेस र सुदुरपश्चिममा पनि बालेन पुग्ने
स्रोतका अनुसार बालेनले पहिलो चरण झापामा एक-दुई दिन कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् । त्यसपछि उनी सुदूरपश्चिमका दुई जिल्ला जान सक्ने कार्यक्रम छ । यद्यपि त्यो निश्चित भइसकेको छैन ।
‘झापामा सचिवालयको कार्यालय र स्थानीय नेताहरुसँग एक चरणको रिपोर्टिङ हुन्छ । त्यसपछि मधेसमा पनि एक-दुई दिन चुनावी अभियानमा लैजान सकिन्छ भनेर समय मिलाइरहेका छौं,’ उनी निकट स्रोत भन्छ ।
बालेनलाई सुदूरपश्चिमका दुई जिल्लामा जानैपर्ने दबाब देखिएको पनि निकट स्रोतहरुको दाबी छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले लड्न लागेको अछाम-२ मा र अभियन्ता सागर ढकाल लड्ने डडेल्धुरामा उनी जसरी पनि उपस्थित हुने तयारी गरिएको छ ।
‘दुई क्षेत्रमा जसरी पनि जाने कुरा छ, यस्तै रुपन्देही-३ मा चुनावी तयारी गरेका उनका सचिवालय सदस्य सन्तोष गिरी उठ्ने क्षेत्रमा पनि बालेन पुग्ने भएका छन्,’ उनी निकट स्रोत भन्छ ।










