निर्वाचनका लागि कुल चार करोड २० लाख ५० हजार मतपत्र आवश्यक, दैनिक १३ लाखका दरले मतपत्र छापिँदै
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म एक करोड १५ लाख ६४ हजार मतपत्र छापिएको छ । निर्वाचनका लागि कुल चार करोड २० लाख ५० हजार मतपत्र आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ । बाँकी तीन करोड ८६ हजार मतपत्र अझै छाप्न बाँकी छ ।

२५ पुसदेखि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गरेको हो । केन्द्रले पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छापिरहेको छ । हाल दैनिक १३ लाखका दरले मतपत्र छापिँदै आएको केन्द्रले जनाएको छ ।
आगामी निर्वाचनका लागि समानुपातिकतर्फ मात्रै दुई करोड १० लाख ५० हजार मतपत्र आवश्यक पर्छ । तीमध्ये हालसम्म एक करोड १५ लाख ६४ हजार मतपत्र छापिएको केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले बताए । उनका अनुसार समानुपातिकतर्फ मात्रै अझै ९४ लाख ८६ हजार मतपत्र छाप्न बाँकी छ । मतपत्रको अभाव नहोस् भन्ने उद्देश्यले केही बढी संख्यामा पनि मतपत्र छापिनेछ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइका लागि ९ माघसम्मको समयसीमा दिएको छ । तर, उक्त मितिभित्र छपाइ सम्पन्न गर्न चुनौतीपूर्ण हुने केन्द्रको भनाइ छ । छपाइपछि प्याकिङ गर्नसमेत समय लाग्ने भएकाले १० माघसम्ममा प्याकिङ सकिने अनुमान गरिएको छ । हाल समानुपातिकतर्फको मत दैनिक १३ लाख पत्र छापिने गरेको छ । केन्द्रले त्यसको लागि पाँचवटा छापाखाना सञ्चालन गरिरहेको छ ।
९ माघसम्म छापिए पनि पूर्ण प्याकिङका लागि कम्तीमा एक दिन आवश्यक पर्ने प्रवक्ता कुँवरले बताए । ‘मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको छ । हाल २५० कर्मचारी खटिएका छन् र दैनिक १३ लाख मतपत्र छापिँदै छ,’ प्रवक्ता कुँवरले भने, ‘छापिएका मतपत्र प्याकिङ गरेर सुरक्षित रूपमा भण्डारण गरिरहेका छौँ । समयमै छपाइ सम्पन्न हुन्छ भन्ने विश्वास छ ।’
११ माघदेखि बल्ल प्रत्यक्षतर्फको मतपत्र छपाइ हुने
समानुपातिकतर्फको छपाइ सकिएपछि मात्रै प्रत्यक्षतर्फको छपाइ सुरु गरिनेछ । प्रवक्ता कुँवरका अनुसार प्रत्यक्षतर्फको मतपत्र छाप्न १२ दिनसम्म समय लाग्छ । मतपत्र छपाइको काम २३ माघसम्म सकिने केन्द्रको आकलन छ । त्यसपछि प्याकिङ गरेर ढुवानी थालिनेछ । मतपत्र छाप्नका लागि करिब पाँच करोडप्रति कागज निर्वाचन आयोगले खरिद गरेर केन्द्रलाई दिइसकेको छ ।
मतपत्र छपाइमा करिब २२ करोड खर्च
हालसम्म मतपत्र छपाइमा कति खर्च भइसकेको भन्ने यकिन विवरण तयार भइसकेको छैन । कागज निर्वाचन आयोगले नै खरिद गरिदिएकाले केन्द्रलाई छपाइ र प्याकिङ खर्च मात्र भुक्तानी गरिनेछ । समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीका मतपत्र छपाइ तथा प्याकिङमा करिब २२ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
छपाइ सम्पन्न भएपछि केन्द्र र आयोगबिच दररेट कायम गरी भुक्तानी प्रक्रिया अघि बढाइनेछ ।

०७९ सालको निर्वाचनमा करिब ४४ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो । त्यसवेला करिब आठ करोड मतपत्र छापिएका थिए । यसपटक प्रदेश सभा निर्वाचनका मतपत्र छाप्न नपर्ने भएकाले खर्च र मतपत्र दुवै कम भएको हो ।
यसरी हुन्छ मतपत्र ढुवानी
मतपत्र ढुवानीको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगकै हुनेछ । आयोगले ढुवानीको कार्यतालिका बनाएर केन्द्रलाई सोहीअनुसार मतपत्र प्याकिङ गर्न निर्देशन दिनेछ । प्याकिङ सकिएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मीले मतपत्र जिल्लास्थित निर्वाचन कार्यालयहरूमा पुर्याउनेछन् । निर्वाचनको दिन बिहानै ती मतपत्र मतदानस्थलमा पठाइने व्यवस्था मिलाइनेछ ।
‘ढुवानीको तालिका आयोगले बनाउँछ, हामीले त्यसअनुसार प्याकिङ गर्छौँ,’ प्रवक्ता कुँवरले भने, ‘मतपत्र आयोगको टोली र सुरक्षाकर्मीले जिल्ला निर्वाचन कार्यालयसम्म पुर्याउँछन्, त्यहाँबाट मतदानस्थलमा सुरक्षित रूपमा पठाइन्छ ।’
उनका अनुसार २३ माघसम्म छपाइ सकिएमा २७ वा २८ माघदेखि ढुवानी सुरु हुन सक्छ । तर, उपत्यकाबाहिर समयअगावै मतपत्र पठाउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले आयोगले सकेसम्म निर्वाचन नजिकै ढुवानी गर्ने तयारी गरेको छ ।
दुई प्रकार, दुई रंगका मतपत्र
निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ गरी दुई प्रकारका मतपत्र छापिँदै छन् । समानुपातिकतर्फको मतपत्र देशभर एउटै प्रकारको हुनेछ भने प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन् । उम्मेदवारको संख्याका आधारमा कतिपय ठाउँमा मतपत्रको आकार ठुलो र कतिपयमा सानो हुनेछ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसीको चिह्न प्रयोग गरी डिजाइन गरेको छ । प्रत्यक्षतर्फ भने सेतो कागजमा रातो मसीको चिह्न रहनेछ । मनोनयन प्रक्रिया सकिएपछि आयोगले प्रत्यक्षतर्फको मतपत्र डिजाइन गर्नेछ । डिजाइन प्राप्त भएपछि जनक शिक्षाले छपाइ सुरु गर्नेछ ।









