काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको छ। यसैबीच, निकट स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि डा. भट्टराईलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

यसक्रममा डा. भट्टराईले फेसबुक लाइभमार्फत चुनाव नलड्ने घोषणा गरिसकेको जनाइएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट यस क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।
यसैबीच, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले डा. भट्टराईसँग उम्मेदवारी फिर्ता लिन सार्वजनिक रूपमा आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा डा. भट्टराईसँगको तस्बिर सार्वजनिक गर्दै लामो सन्देश लेखेका छन्। उक्त सन्देशमा पुराना दलहरूले व्यवस्था परिवर्तनका क्रममा हासिल गरेका उपलब्धिको संरक्षण गर्दै २१औँ शताब्दीमा आर्थिक समुन्नतिको बाटो नयाँ र वैकल्पिक राजनीतिक दलमार्फत मात्र सम्भव हुने अवधारणा डा. भट्टराईले अघि सारेको उल्लेख गरिएको छ।
वाग्लेले वैकल्पिक राजनीतिको जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय सम्भव भएको भन्दै पूर्वप्रधानमन्त्रीका रूपमा डा. भट्टराईले पार्टीलाई मार्गनिर्देशन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। साथै, फागुन २१ पछि रास्वपाको नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको सुशासन, विकास तथा संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभव उपयोगी हुने उल्लेख गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ।
रास्वपाले गोरखा क्षेत्र नम्बर २ मा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट निर्वाचनमा सहभागी भई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पराजित भएका थिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका थिए। गत मंगलबार उनले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।










