२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि…

सिरहा । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्येष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको हो ।

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।

रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भने, “यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।”

छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भए छ । उनले भने, “छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापर्बाहीले त्यो पनि सम्भव भएन ।”

शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।